पछिल्लो एक दशकमा नेपालमा पनि यस्ता औषधिहरु लोकप्रिय बन्दै गइरहेका छन् । तर यो औषधिको प्रयोग अहिले यत्ति धेरै बढ्न थाल्यो कि यसलाई चकलेट झैँ प्रयोग गर्न थालियो । मतलब, जुन बेला मन लाग्यो त्यहीबेला, जसरी मन लाग्यो त्यसरी पसल पसलबाट यसको विक्री अनि प्रयोग भइरहेको छ । यसको प्रयोग, विधि र असरबारे आम प्रयोगकर्तालाई बुझाउन नसक्दा यसले गम्भीर स्वास्थ्य समस्या ल्याउने खतरा पनि बढ्दै गएको छ ।
पछिल्लो समय विवाहित भन्दा पनि अविवाहित महिला र किशोरीहरुले यसको प्रयोग बढी गर्ने गरेका छन् । विश्व बजारमा महिलाका लागि मात्रै उपलब्ध आकस्मिक गर्भनिरोधक चक्कीले स्वास्थ्य समस्या पनि महिलालाई नै दिइरहेको छ । महिला स्वास्थ्यका दृष्टिकोणले यो गम्भीर चुनौतीका रुपमा आउन थालेको छ । बीबीसीका अनुसार अहिले विश्वका १० करोड महिलाहरु यस्ता औषधिको प्रयोग गरिरहेका छन् ।
यस्ता औषधिहरु अफ्रिका, ल्याटिन अमेरिका र उत्तर अमेरिकामा लोकप्रिय गर्भनिरोधकका लागि दोस्रो लोकप्रिय उपाय बनेको छ भने एसियामा गर्भनिरोधका लागि तेश्रो लोकप्रिय औषधि बनेको छ । यो औषधि न पूर्णरुपमा भरपर्दो छ न त सुरक्षित नै । परिवार नियोजनसम्बन्धि परामर्श, औषधिको मात्रा र खाने विधि, गर्भावस्थाको सामान्य ज्ञान, यसका जटिलता आदिका बारेमा जानकारी लिएर मात्रै सेवन गर्न डाक्टरहरुको सुझाव छ ।
प्रतिकृया दिनुहोस्