Wednesday, October 27

”कुरा बुझ्न पर्छ” पछी प्रकाश सपुतले ल्याए “दशै-तिहार अर्को साल” भिडियो सहित

October 3, 2021 198

पछिल्ला केही वर्ष नियमितजसो नेपाली साङ्गीतिक आकाशमा चम्किरहेका छन् केही कलाकार । नेपाली साङ्गीतिक क्षेत्रमा अमूल्य र कर्णप्रिय गीतहरू एकपछि अर्को दिँदै आएका छन् यिनीहरूले ।

यस्तै गीतमा पर्छन्, ‘गलबन्दी च्यातियो तिम्ले तानेर’, ‘बोल माया’ ‘बदला बरी लै ! यो देश मेरो पनि होइन लगायत दर्जनौ’

लोकभाका मिश्रित यी गीतहरूका गायक हुन्, प्रकाश सपुत । सपुतका यी गीतले पछिल्लो समय नेपाली श्रोताको मन र मस्तिष्क दुवै हल्लाइरहेका छन् । हरेकजसो नेपालीका ओठमा यी गीत झन्डिएका छन् ।

शिलापत्रडटकमको नियमित स्तम्भ ‘मेरो सङ्घर्ष’का लागि यस पटक उनै प्रिय गायक सपुतको सङ्घर्षलाई समेटिएको छ ।

धेरै मानिस आफ्ना सपनालाई मूर्त रूप दिन सारा जीवन समर्पित गर्छन् । जीवन बितेर जान्छ तर पनि कतिपय अवस्थामा सपना अधुरै रहन्छ ।

सपुत भने यस मामलामा अपवाद सिद्ध भएका छन् । उनले छोटो अवधिमै आफ्नो सपनाको दुनियाँ अर्थात् साङ्गीतिक क्षेत्रमा हस्तक्षेपकारी उपस्थिति जनाए । उनले यसबाट नाम मात्र कमाएनन्, आर्थिक र सिर्जनात्मक रूपमा पनि उनी अहिले राम्रो अवस्थामा छन् ।

सङ्गीतको क्षेत्रमा उनी अहिले लोकप्रियताको शिखरमा छन् । कुनै बेला खान-लगाउनकै समस्या भएका र अभाव नै अभावमा जीवन विताएका सपुत अहिले काठमाडौंमा आफ्नै घरमा बस्छन् । यसको आसय उनको आर्थिक हैसियत पनि विचित्र ढंगले उठेको छ अहिले । तर, उनलाई यो सफलता सहज र स्वाभाविक ढंगले प्राप्त भएको भने होइन । यसका लागि उनले धेरै मिहिनेत गरेका छन् । धेरै सङ्घर्ष गरेका छन् । उनी जातीय विभेद, आर्थिक अभाव र सङ्गीतका क्षेत्रमा समानान्तर ढंगल सङ्घर्ष गर्दै अगाडि बढे ।

प्रकाश सपुतको जन्म बाग्लुङ जिल्लाको धम्जामा २०४७ सालमा भएको हो । कामको सिलसिलामा बुबाआमा भारतमा भएकाले उनको बाल्यकालको केही समय भारतमै बित्यो । त्यसपछि उनी बुटवलस्थित मामाघरमा बसे । उनले कक्षा २ सम्म मामाघरमै बसेर पढे ।

उनको बाल्यकाल सामान्य तवरले बित्यो । बुबाको जागिर थिएन । पुख्र्यौली सम्पत्ति पनि थिएन । त्यसैले कमाउनका लागि बुबा भारत गइरहन्थे ।

उनको बाल्यकाल अभाव र कठिनाइमै बित्यो । कमजोर आर्थिक अवस्था थियो परिवारको । सीमान्त गरिबीको रेखामुनि रहेर निम्नमध्यम वर्गीय परिवारको जीवन बाँचे उनले बाल्यकालमा । भारतमा गएर बुबाले कमाउने भएकाले खान-लगाउनको उतिसारो समस्या नभए पनि बाल्यकालका रहरहरू पूरा गर्न सकिने अवस्था भने थिएन ।

सद्भाव र विभेद एकसाथ

उनी बसेको समाज दलित र गैरदलित समुदायको मिश्रित समाज थियो । समाजमा सहयोग र सद्भावको अवस्था राम्रै थियो तर जातीय विभेद भने सधैँ खड्किइरहन्थ्यो ।

सपुत भन्छन्, ‘गैरदलितहरूले सहानूभूति राख्थे । परेका बेला सहयोग पनि गर्थे तर खाना दिँदा बाहिर राख्ने चलन थियो । सँगै खेलेर आएका साथीहरू भित्र बसेर खाना खान्थे भने आफूले बाहिर बसेर खानुपथ्र्यो’, उनी थप्छन्, ‘माया पनि गर्थे र विभेद पनि ।’

उमेर बढ्दै गएपछि र अलिक जान्नेबुझ्ने भएपछि भने नगई नहुने अवस्थामा बाहेक उनले गैरदलितहरूको घरमा जान छाडे । कुनै समय बालीप्रथाबाट खाद्यान्न जुटाउने उनको परिवार विस्तारै आत्मनिर्भर बन्दै गएपछि उनलाई गैरदलितहरूबाट टाढै रहन सजिलो पनि भयो ।

शहरीकरणको विकास र विस्तारले पनि जातीय विभेद कम गर्नमा र दलितहरूलाई आत्मनिर्भर बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सपुतको बुझाइ छ । भन्छन्, ‘विनिमयको माध्यमका रूपमा पैसा आएपछि र आफ्ना आवश्यकताहरू बजारबाट पूरा हुन थालेपछि अवस्था सहज हुँदै गयो ।’

प्रविधिको विकासले पनि परिवर्तनमा त्यतिकै सघाउ पुगेको उनको ठम्याइ छ ।

सबैभन्दा अनौठो त के रह्यो भने गाउँमा सँगै नबस्ने र सँगै नखानेहरू पनि शहरमा आएपछि एउटै कोठामा बस्न थाले । एउटै ओछ्यानमा सुत्न थाले । यसरी पनि विभेदको रेखा मेटिँदै गएको उनको भनाइ छ । ‘तर पनि अझै विभेद कायमै छ’, सपुत भन्छन्, ‘यद्यपि, अहिले पहिलेको भन्दा निकै सुधार भइसकेको छ ।’

गायन यात्रा

सङ्गीतकै माध्यमबाट अहिले चर्चाको शिखरमा रहे पनि सपुतले सङ्गीतको औपचारिक ज्ञान भने कतैबाट लिएनन् । सायद उनलाई उनी हुर्केको माटोले सङ्गीत सिकायो । उनी हिँडेको बाटोले सङ्गीत सिकायो ।

उनका हजुरबुबा भजन गाउँथे । बुबा मारुनीमा नाच्ने र गाउने गर्थे । उनमा सङ्गीतको नशा त्यहीँबाट जाग्यो सायद । भन्छन्, ‘घरपरिवारबाटै सङ्गीतको प्रभाव ग्रहण गरेँ र त्यहीबेलादेखि नै नजानिँदो किसिमले यसको सङ्गत भयो ।’

कक्षा ८ मा पढ्दा उनले ठूलो कार्यक्रममा आमासम्बन्धी गीत गाए । त्यसमा विजेता पनि बने । त्यसपछि उनमा हौसला र आत्मविश्वास थप प्रगाढ भएर गयो ।

प्रेम र विवाह

गाउँकै विद्यालयबाट कक्षा १० उत्तीर्ण गरेका सपुत त्यसपछिको अध्ययनका लागि बाग्लुङ बजार गए । बजारमै कोठा भाडामा लिएर पढ्न थाले । यहीबीचमा सहपाठीसँग आँखा जुध्यो र प्रेम बस्यो । सपुतसँग आँखा जुधेकी युवती थिइन्, विन्दु बोहरा ।

जातीय रूपमा विन्दु गैरदलित थिइन्, प्रकाश दलित । वर्गीय रूपमा उनी धनी थिइन्, प्रकाश गरिब । भेगीय रूपमा उनी शहरिया थिइन्, प्रकाश गाउँले । सम्बन्धलाई निरन्तरता दिन निकै प्रतिकूलता थिए । तर, प्रेमका अगाडि कसको के लाग्दो रहेछ र ! प्रेम सफल भयो । विवाह भयो ।

केही समय ससुरालीहरूले स्वीकार गरेनन् तर अहिले स्वीकार गरिसकेका छन् । अहिले ३ वर्षकी छोरी छन् उनीहरूकी । छोरीसँग बिताइएका क्षणहरू उनलाई सबैभन्दा मूल्यवान् क्षण लाग्छन् रे ! जीवनका प्राप्तिका अनुभूतिहरूमा सन्तान प्राप्तिको अनुभूति सबैभन्दा सुन्दर अनुभूति पनि त हो !

काठमाडौं आएपछिका सङ्घर्ष 

काठमाडौं आएपछि लोकदोहोरी प्रतियोगितामा सहभागी हुन थाले सपुत, जसबाट विस्तारै नाम र दाम कमाउन थाले । यो समयमा उनलाई नामभन्दा पनि दामको खाँचो थियो । घरमा अलिअलि पैसा पठाउन थाले, जसबाट परिवार पनि खुसी र आफू पनि खुसी भए ।

त्यसपछिको करिव ४ वर्ष ठमेलको गामवेँसी दोहोरी साँझमा गीत गाएर बिताए । दोहोरी साँझमा काम गर्न थालेपछि उनको आर्थिक समस्या पनि समाधान हुँदै गयो । सङ्गीत क्षेत्रका व्यक्तिहरूसित चिनजान पनि बढ्दै गयो ।

जीवन निर्वाहका लागि प्रकाश सपुतले होटल र फर्निचरमा काम गरे । त्यस्तै, धौलागिरि एफएमलगायत अन्य क्षेत्रमा समेत काम गरे । यो काम गराइले आर्थिक अभाव नटरेपछि विदेश जान खोजे तर सपना पूरा गर्ने हुट्हुटीले विदेशका लागि उठिसकेका उनका पाइलालाई एकाएक रोक्यो ।

त्यसपछि उनले आफ्नै देशमा रहेर सङ्घर्ष गर्ने निधो गरे । सफलता पनि हात पारे ।

एल्बम

‘मुसुमुसु नहाँस’ उनको पहिलो एल्बम थियो । तर, प्रारम्भिक चरणका कामहरूमा खासै सफलता हात लागेन उनलाई ।

‘माकुरामाकुर घुर’ बोलको गीतबाट सबैको नजरमा पर्नुअघि उनले विभिन्न भूमिकामा करिव २ सयवटा भिडियोमा काम गरिसकेका थिए ।

‘बोल माया’ले त उनलाई चर्चाको शिखरमै पुर्‍यायो । त्यसपछिका हरेक प्रोजेक्ट सफल हुँदै गए । यो मोडपछि उनले पछाडि फर्किएर हेर्नुपरेन ।

यति मात्र होइन, त्यसपछिका उनका हरेक सिर्जनाहरूले युट्युबका ट्रेन्डिङमा आधिपत्य कायम गर्न सफल भए ।

पछिल्लो पटक उनको सामाजिक सन्देशमूलक साङ्गीतिक भिडियो ‘बदला वरिलै’ पनि केही दिनदेखि टे«न्डिङमा १ नम्बरमा आधिपत्य जमाएर बसेको छ ।

चोरीको आरोप

सपुतको चर्चित गीत ‘गलबन्दी’को भाका शम्भु राईको गीतसँग मिलेको आरोप लाग्यो । ठूलो विवाद भयो र अन्त्यमा सर्जकमा राईको समेत नाम राखेर सम्झौता गरियो । उनलाई यो अनुभूति जीवनकै सर्वाधिक नमीठो अनुभूति लाग्छ ।

भन्छन्, ‘त्यसबेला उज्यालो नभए हुन्थ्यो । सबैथोक छाडेर कतै टाढाटाढा एक्लैएक्लै जान पाए हुन्थ्यो । मोबाइल चलाउन नपरे हुन्थ्यो जस्तो आनुभूति हुन्थ्यो ।’

बहुप्रतिभा हुनुको रहस्य 

‘कहिलेकाहीँ गीत गाएर खाएँ, कहिलेकाहीँ लेखेर खाएँ, कहिलेकाहीँ नाचेर खाएँ’, सपुत भन्छन्, ‘जीवन निर्वाह गर्ने क्रममा धेरै बाटाहरूसित चिनजान भयो । आवश्यकताले यी बाटाहरूसित परिचित गरायो । पछि गएर यो नै मेरो उकालो यात्राको सहयोगी सावित भयो ।’

उनी धेरैतिर छरिए तर धेरैतिर सफल पनि भए । भन्छन्, ‘रूख एउटै थियो । धेरै हाँगाहरूमा फल्न सकेँ भन्नेमा गौरवको अनुभूति हुन्छ ।’

निरन्तरता हो कला

सपुतको बुझाइमा सामान्य मान्छेहरूको जीवन एउटा विन्दुमा पुगेपछि रोकिन्छ तर कलाकारहरूको चलिरहन्छ । ‘धेरैसित सङ्गत गरिन्छ । धेरैसित चिनजान हुन्छ । जीवनमा अगाडि बढ्न प्रेरणा दिने, हौसला दिने, सहयोग गर्ने धेरै छन्’, उनी भन्छन्, ‘यसले यात्रालाई निरन्तरता दिन सहज भएको छ ।’

जिन्दगीको रफ्तारमा अगाडि बढ्दै गर्दा कोही तलको सिँढीमै रोकिए, कोही त्यसभन्दा केही माथि पुगे । अर्थात् जो जहाँ भेटिए, उनीहरू त्यहीँ छुटे । कतिपयले गुनासो पनि गर्ने गर्छन् तर चाहेर पनि सबैलाई सँगै लिएर जान नसकिने उनी बताउँछन् ।

‘आफूले आफूलाई मूल्याङ्कन नगर्ने हो भने र आफूले अरूलाई मूल्याङ्कन नगर्ने हो भने जीवन सहज हुने रहेछ’ भन्छन् उनी ।

जीवन सफलता वा प्राप्ति

जीवनबारे उनको बुझाइ सरल छ । सानो उमेरमा गरिबी थियो । अभाव थियो । त्यसबला जीवन अभाव हो जस्तो लाग्थ्यो उनलाई । त्यसपछि प्रेम भयो । त्यो समयमा जीवन भनेको प्रेम हो भन्ने लाग्यो ।

त्यसपछि सङ्घर्षको चरण आयो अनि जीवन सङ्घर्ष हो भन्ने लाग्न थाल्यो । अहिले सफलताको अनुभूति छ । अहिले जीवन सफलता वा प्राप्ति हो भन्ने लाग्छ उनलाई । ‘जीवनका भोगाइसँगै जीवनबारेको बुझाइ फरक पर्दोरहेछ । परिभाषाहरू फेरिइरहँदा रहेछन्’, उनी भन्छन् ।

सङ्गीत जीवन जिउने आधार

सपुत भन्छन्, सङ्गीत जीवन जिउने आधार हो किनकि मैले त्यो कुरा महसुस गरेको छु । सङ्गीत सिर्जनशीलता हो किनकि मैले सिर्जना गरेको छु । सङ्गीत भनेको मेरालागि ध्यान जस्तो हो भन्न सक्छु ।’

सङ्गीत सुनेर आनन्दित हुने र सङ्गीतमा मजा लिइरहेको उनको भनाइ छ । उनको बुझाइमा कुनै पनि परिभाषाहरू निरपेक्ष हुँदैनन् । परिभाषाहरू जीवन भोगाइसँग सापेक्ष भएर आउँछन् ।

समग्रमा भन्दा, उनी जुन आर्थिक-सामाजिक पृष्ठभूमिबाट आए, त्यस हिसाबले हेर्दा आज जुन उनी स्थानमा छन्, यो सबै ठूलो प्राप्ति जस्तो लाग्छ उनलाई । तर, प्राप्त खुसीले उनी धेरै पुलकित भने छैनन् ।

उनले पाएका सफलताहरू एकाएक टप्किएका सफलता होइनन् । यिनीहरू योजनाबद्ध किसिमले र एकपछि अर्को गर्दै आएका हुन् । ‘सबैमा उत्तिकै लगाव, उत्तिकै मिहिनेत लागेको छ । आज म जहाँ र जुन अवस्थामा छु, यसबाट सन्तुष्ट छु तर अझै धेरै काम गर्न बाँकी नै छ’, उनी भन्छन् । -सिलापत्रबाट।

हेर्नुहो तलको यो नयाँ भिडियो…

प्रतिकृया दिनुहोस्