२७ असोज, मोरङ । मोरङको धनपालथान गाउँपालिका कर्सियामा रहेको सिटिजन्स बैंकमा रहेको रकम लुटमा संलग्न तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार लुटपाटको प्रयासपछि भाग्दै गरेको समूहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा विराटानगर महानगरपालिका-८का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा-५ का २८ वर्षीय सुनिल यादव र भारत अररिया-४ का ३० वर्षीय विजय सहनी (बायाँ तिघ्रामा गोली लागी घाइते भएका) रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिउको छ भने उक्त घटनामा संलग्न अन्य ६ जना व्यक्तिको खोजी भइरहेको छ । पक्राउ परेका उनीहरुको साथबाट घटनास्थलमा प्रयोग भएको पेस्तोल, ३ राउण्ड गोली र नोकिया कम्पनीको मोबाइल १ वटा बरामद गरेको छ ।
उनीहरु अमाही बरियातीको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि लुटेरा समूहलाई पक्राउ गर्दा प्रहरीले गोली चलाएको थियो । गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका थिए । घटनाको अनुसन्धान गरिरहेको बताउँदै प्रहरी उपरीक्षक जिसीले लुटेराको साथबाट नगद नभेटिएको बताए ।
कर्सियास्थित सिटिजन्स बैंकमा हतियारसहित प्रवेश गरेको लुटेरा समूहले २१ लाखभन्दा बढी रकम लुटेर लगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।-नुवाकोटएक्सप्रेस
प्रतिकृया दिनुहोस्