काठमाडौं। एक जना व्यापारीले फेसबुकमा लाइभ गरेर विष खाँदै गरेको र उनकी पत्नीले उनलाई मर्न नदिनको लागि उनको हातबाट विषको पोखो खोस्ने प्रयास गरिरहेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । पत्नीले धेरै प्रयास गर्दा पनि व्यापारीको हातबाट विषको पोको खोस्न सकिनन् । पतिले विष खाएपछि पोकोमा बाँकी भएको विष पत्नीले पनि खाइन् । अहिले पत्नीको मृत्यु भइसकेको छ र पति गम्भीर अवस्थामा अस्पतालमा छन् ।
विष खाने व्यापारीले भिडियो हेर्नेहरुलाई भिडियो भाइरल गरिदिन भन्दै ढलेको फेसबुक भिडियोमा देख्न सकिन्छ । भारतको उत्तर प्रदेशको बागपतका यी व्यापारीले विष खाने क्रममा भएको हल्ला सुनेर त्यहाँ पुगेका छिमेकीले उनीहरुलाई अस्पताल लगेका थिए जहाँ पत्नीको मृत्यु भयो र पति गम्भीर अवस्थामा छन् । यी व्यापारीले आत्मघाती कदम उठाउनुको कारण सरकारको कर प्रणालीका कारण व्यापारमा भएको नोक्सानी बताइएको छ । उनी जुत्ताका थोक व्यापारी थिए ।
राजीव तोमर नामका यी व्यापारी विगत ५ वर्षदेखि सुभाष नगरमा पत्नी पुनक र दुई छोराहरु विपुल र रिदमसँग बस्दै आएका थिए । उनको बावली रोडमा जुत्ताको पसल छ । उनी थोक व्यापारी हुन् । विगत केही महिनादेखि उनको कारोबारले मन्दीको मार झेलिरहेको थियो । खर्च चलाउनको लागि छिमेकी पसलेसँग ऋण लिनु परेको थियो ।
फ्रि प्रेस जर्नलका अनुसार मंगलबार दिउँसो १२ बजे राजीवले फेसबुक लाइभ सुरु गरे । उनकी पत्नी त्यतिबेला उनीसँग कुरा गरिरहेकी थिइन् । भिडियोमा उनी पत्नीलाई ‘सरकारले त कसैको कुरा सुन्दैन, तिमी त मेरो कुरा सुन, बस’ भनिरहेका सुनिन्छन् । त्यसपछि उनले विषको पोको निकाले । उनकी पत्नीले उनीसँग यो के हो भनेर सोध्छिन् तर उनले जवाफ नदिइ विष खान्छन् र पानी पिउँछन् ।
उनकी पत्नीले ज्यान बचाउनको लागि उनको मुखबाट विष निकाल्ने प्रयास गरिन् । यस क्रममा लाइभ भिडियो जारी रह्यो । यस क्रममा राजीवले देशको कर प्रणालीप्रति असन्तुष्टि पोख्छन् । त्यसपछि उनी ढल्छन् । पतिलाई बचाउन असफल भएपछि उनकी पत्नीले पोकोमा बाँकी भएको विष खान्छिन् । पत्नी पुनमको विषका कारण मृत्यु भयो । राजीव आइसीयूमा छन् । उनीहरुले आल्मुनियम फस्फेटको ट्याब्लेट खाएको डाक्टरले बताएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतिकृया दिनुहोस्