प्रेस काउन्सिल नेपालले प्राइमटाइम्स टेलिभिजनका सञ्चालक ऋषि धमलालाई स्पष्टीकरण सोधेको छ । विमानभित्र अनुमतिबेगर प्रत्यक्ष प्रसारण गरेको भन्दै काउन्सिलले मंगलवार २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमण सकेर नेपाल फर्कने क्रममा धमलाले अनुमतिबेगर विमानभित्र पसेर प्रत्यक्ष प्रसारण गरेका थिए । ‘विमानभित्रैबाट अनुमतिबेगर, पटकपटक वायुसेवाका कर्मचारीहरूले ‘सेक्युरिटी प्रोटोकलविपरीत हो यसो नगरिदिनुहुन, यसो गर्न मिल्दैन’ भन्दाभन्दै पनि बलजफ्ती/जबर्जस्तीरुपमा निषेध गरिएको क्षेत्रमा छिरेर भिज्यूअल रेकर्ड गरी सम्प्रेषण गरेको स्वःअनुमनबाट देखिएको छ,’ काउन्सिलको पत्रमा उल्लेख छ ।
पत्रकारिता क्षेत्रको मर्यादा/विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो ? भन्दै काउन्सिलले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न धमलालाई भनेको छ ।काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताको मर्यादा जोगाउने काम पत्रकारकै भएको बताए ।
‘क्यामरा बुम बोक्दैमा पत्रकारलाई जहाँ पनि जाने छुट हुँदैन,’ उनले भने, ‘प्रत्यक्ष प्रसारण गर्दा कतिपय संवेदनशील क्षेत्रहरू हुन्छन्, त्यसमा पनि पत्रकारले विचार पुर्याउनुपर्छ ।’
प्रतिकृया दिनुहोस्