काठमाडौं । युक्रेनले रुससँग चलिरहेको युद्धको बीचमा विपक्षी नेता भिक्टर मेदवेदचुकलाई हिरासतमा लिएको दाबी गरेको छ। युक्रेनको खुफिया एजेन्सी एसबीयूले केही तस्विरहरू पनि जारी गरेको छ, जसमा मेदवेदचुक हातकडी लगाएको देखिएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि मेदवेदचुकको गिरफ्तारीको बारेमा बोलेका छन्। मेदवेदचुकलाई रुस समर्थक नेता मानिन्छ। उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पनि निकट रहेको बताइएको छ ।
भिक्टर मेदवेदचुकलाई गत वर्ष देशद्रोहको आरोपमा घरमै नजरबन्द गरिएको थियो। मेदवेदचुक यस वर्षको फेब्रुअरीमा भागेका थिए। अहिले युक्रेनले उनलाई फेरि हिरासतमा लिएको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मेदवेदचुकको रिहाइको बदलामा युक्रेनी नागरिक र सैनिकलाई रिहा गर्ने प्रस्ताव गरेका छन्।
रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मेदवेदचुकलाई हिरासतमा लिएको तस्बिरहरू आफूले देखेको बताएका छन्। तर, उनले भिक्टर मेदवेदचुकलाई पक्राउ गरेको पुष्टि भने गरेका छैनन् । धेरै फेक न्युज चलिरहेकाले यो तस्वीरमा कति सत्यता छ भन्न नसकिने उनको भनाइ छ ।
भिक्टर मेदवेदचुक युक्रेनका सांसद र विपक्षी पार्टी फर लाइफका नेता हुन्। फर लाइफलाई रुसले समर्थन गरेको मानिन्छ । जेलेन्स्कीले रुस समर्थक भएको भन्दै गत महिना प्रतिबन्ध लगाएका ११ राजनीतिक दलहरूमध्ये फर लाइफ पनि एक हो। मेदवेदचुक पुटिनको नजिक रहेको बताइएको छ ।
भिक्टर मेदवेदचुक को जन्म ७ अगस्त १९५४ मा क्रास्नोयार्स्क क्राइ रूसमा भएको थियो। मेदवेदचुकको परिवार सन् १९६० को दशकमा युक्रेन फर्कियो। १९७२ मा भिक्टर मेदवेदचुक किभ रेलमार्ग हुलाक कार्यालयमा काम गर्न थाले। १९७८ मा भिक्टर मेदवेदचुकले आफ्नो कानून अध्ययन पूरा गरे। भिक्टर मेदवेदचुकले धेरै वर्ष कानूनको अभ्यास गरे। १९९० देखि १९९७ सम्म मेदवेदचुक युक्रेन बार एसोसिएसनको अध्यक्ष पनि थिए।
विश्वविद्यालयमा प्रशिक्षणको क्रममा मेदवेदचुकले पुलिसलाई अपराधीहरू समात्न मद्दत गर्थे। एकपटक उनले प्रहरीसँग मिलेर एक नाबालिग किशोरलाई कुटपिट गरेका थिए । यस विषयमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । तर, प्रमाणको अभावमा उनले सफाइ पाएका थिए ।
मेदवेदचुक युक्रेनका अर्बपति मध्येका एक हुन् । फोर्ब्सका अनुसार गत वर्षसम्म उनको कुल सम्पत्ति ६२ करोड डलर थियो । मेदवेदचुक युक्रेनका तीनवटा टिभि च्यानलका मालिक पनि हुन्। हालै युक्रेनले यी च्यानलहरूलाई रुसको समर्थनमा प्रचार प्रसार गर्न प्रतिबन्ध लगाएको थियो।
भिक्टर मेदवेदचुक र रुसी राष्ट्रपति पुटिन दुवै एकअर्काका ‘निकट साथी’ हुन्। दुईको पहिलो भेट सन् २००३ मा भएको थियो । २००४ मा मेदवेदचुककी दोस्री छोरी जन्मिइन् । उनको नाम डायरा हो । मेदवेदचुकले पुटिन आफ्नी कान्छी छोरी डायराको “गडफादर” भएको कुरा धेरै अवसरहरूमा भनेका छन्।
मेदवेदचुकले तीनवटा विवाह गरेका छन्। उनले आफ्ना पहिलो दुई पत्नी मरीना लेबेदेवा र नताल्या गाभ्रिलुकसँग सम्बन्धविच्छेद गरेका छन्। उनले सन् २००३ मा टिभी एन्कर ओक्साना माराशेन्कोसँग विवाह गरेका थिए ।
मेदवेदचुकलाई पुटिनको भित्री सर्कलको हिस्सा पनि मानिन्छ। पुटिनले युक्रेनी राष्ट्रपतिलाई हटाएर मेदवेदचुकलाई राष्ट्रपतिमा नियुक्त गर्न सक्छन् भन्ने पश्चिमी सञ्चारमाध्यममा पनि समाचार आएको थियो ।
भिक्टर मेदवेदचुकको राजनीतिक यात्रा १९९४ मा सुरु भयो। त्यतिबेला उनी युक्रेनको सोसल डेमोक्रेटिक पार्टीमा सामेल भए । १९९७ मा भिक्टर मेदवेदचुक पहिलो पटक युक्रेनी संसदमा पुगे । २००२ मा दोस्रो पटक सांसद निर्वाचित भए । मेदवेदचुक युरोपेली संघका आलोचक हुन्।
२००४ मा युक्रेनमा सुन्तला क्रान्ति पछि मेदवेदचुक राजनीतिबाट टाढा भए। सन् २००६ को चुनावमा उनको पार्टीले एउटा सिट जित्न सकेन । २०१८ मा मेदवेदचुकलाई फर लाइफ राजनीतिक दलको अध्यक्ष नियुक्त गरियो। २०१९ को चुनावमा फर लाइफले ३७ सिट जितेको थियो। भिक्टर मेदवेदचुक फेरि सांसद बने।
१९ फेब्रुअरी २०२१ मा युक्रेनको डिफेन्स सेक्युरिटी काउन्सिलले मेदवेदचुक र उनकी पत्नी ओक्सानालाई प्रतिबन्ध लगायो। दुवैलाई युक्रेनमा आतंकलाई आर्थिक सहयोग गरेको आरोप लागेको थियो । यस मामला मा भिक्टर मेदवेदचुक देशद्रोहमा दोषी ठहरिए । उनलाई मे २०२१ मा घरमै नजरबन्द गरिएको थियो।
जब रुसले २४ फेब्रुअरीमा युक्रेनविरुद्ध युद्ध सुरु गरेको थियो । मेदवेदचुक तीन दिनपछि २७ फेब्रुअरीमा बेपत्ता भए । युक्रेनको आन्तरिक मन्त्रालयले मेदवेदचुक भागेको दाबी गरेको छ भने उनका वकिलले उनी किभको सुरक्षित स्थानमा सरेको बताएका छन्।
१२ अप्रिलमा युक्रेनको गुप्तचर एजेन्सी एसबीयूले मेदवेदचुकलाई हिरासतमा लिएको दाबी गर्यो। युक्रेनको खुफिया एजेन्सी र राष्ट्रपति जेलेन्स्कीले साझा गरेको तस्विरमा मेदवेदचुकले युक्रेनी सेनाको वर्दी लगाएको देखिन्छ।-डिसीनेपालबाट।
प्रतिकृया दिनुहोस्