Thursday, May 26

खुशिको खबरः नेपाल कृषि अनुसन्धान परिषदले पत्ता लगायो फौजी किरा रोकथामको यस्तो उपाय

May 7, 2022 198

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विशेष गरी मकैलगायत नगदेबालीमा लाग्दै आएको फौजी किराको व्यवस्थापन तथा नियन्त्रणका लागि नयाँ प्रविधिको विकास गरेको छ । नार्कले ग्रिजजस्तो पदार्थलाई मकैको पातमा प्रयोग गरेर फौजी किरा नियन्त्रण गर्न सकिने नयाँ तथ्य पत्ता लगाएको हो ।

फौजी किराले पछिल्लो करिब चार वर्षदेखि नेपालको अन्नबालीमा क्षति पुर्‍याउँदै आएको छ । सरकारले यसको नियन्त्रणका लागि विभिन्न योजनाहरू ल्याए पनि सफल हुन सकेको छैन । नेपालमा मात्र नभएर विश्वमै चुनौतीका रूपमा देखापरेको फौजी किरा व्यवस्थापनका लागि नार्कका अनुसन्धानकर्ता डा. उज्ज्वल कुशवाहाले पहिलोपटक यस विधिको प्रयोगबारे पत्ता लगाएका हुन् । उनको यस अनुसन्धानलाई लिएर बेलायतको विश्वविख्यात म्यागजिन ‘नेचर जर्नल साइन्टिफिक रिपोेर्टस्को अनलाइन संस्करणमा बिहीबार लेख प्रकाशितसमेत भएको छ ।

अनुसन्धानकर्ता डा. कुशवाहाका अनुसार किराबाट प्रभावित मकैको टुप्पोको नयाँ पातमा करिब शून्य दशमलव १५ ग्रामजति ग्रिज लगाउँदा फौजी किरा भाग्ने गर्छ । फौजी किरा अन्यन्तै खन्चुवा र चलायमान जीव हो, जुन रातको समयमा मकैका नयाँ र नरम पात खान एउटा बोटबाट अर्को बोटमा घुमिरहन्छ । डा. कुशवाहा भन्छन्, ‘खाँदै गरेको पातमा थोरै मात्रै ग्रिज लगाइदिने हो भने किरा डुल्ने क्रममा ग्रिजमा टाँसिन पुग्छ, जसले गर्दा उसमा एलर्जी उत्पन्न भई सुरक्षित महसुस गर्न ग्रिज लगाएको बोटबाट टाढा भाग्ने गर्छ ।’

मकैमा लगाएको खेतको सम्पूर्ण बोटमा ग्रिज लगाउनुपर्छ भन्ने हुँदैन । खेतमा लगाएको मकैको कुल संख्याको बोटको पाँचदेखि १० प्रतिशतजति बोटमा ग्रिज लगाए पुग्ने डा. कुशवाहाले बताए । उनी भन्छन्, ‘यो सस्तो र सर्वसुलभ वैकल्पिक प्रविधिको प्रयोग गरेर किसानले विनारसायन फौजी किरा नियन्त्रण गर्न सक्छन् ।’ पेट्रोल तथा डिजेल गाडीहरू, मोटरबाइक र अटोमोबाइल्स उद्योगमा ग्रिजलाई लुब्रिकेटिङ एजेन्टका रूपमा प्रयोग गरिन्छ । कुशवाहा नेपालमा फौजी किराको प्रकोप डरलाग्दो गरी फैलिएको र ठूलो समस्याका रूपमा देखिएको बताउँछन् ।

हरेक वर्ष किसानले फौजी किराको आक्रमणले बालीमा नोक्सान भएको गुनासो लिएर आउने गरेको उनले बताए । सरकारले पनि यसलाई नियन्त्रण गर्न लाखाैँ रुपैयाँ खर्च गरिसकेको कुशवाहाले बताए । उनी भन्छन्, ‘यसले गर्मी समयमा एकै रातमा अनेकौँ मकैका बोटका कलिला पातमा आक्रमण गर्न सक्छ ।’

मकै बालीमा फौजी किराको लार्भा अन्त्यन्तै खतरनाक मानिन्छ । जसले उत्पादनको सरदर ४० प्रतिशतदेखि ५० प्रतिशतसम्म ह्रास ल्याउन सक्ने कुशवाहाको भनाइ छ । उनका अनुसार हाल त्यसलाई नियन्त्रण गर्न ‘इमामेबेट्रिन बेन्जोए र स्पाइनोसाड’ केमिकलको प्रयोग हुँदै आएको छ केही प्रभावकारी यस केमिकलले केही दिन नियन्त्रण गरे पनि यसको प्रयोग पुनः सुरु गर्नुपर्ने उनले बताए  ।

वैज्ञानिकलाई फौजी किराको समस्याको निराकरणमा चुनौती थपिरहेका वेला ग्रिजले फौजी किराको व्यवस्थापन गर्न सक्छ भन्ने नयाँ तथ्य फेला पार्नु निकै सकारात्मक भएको राष्ट्रिय बाली प्रजनन तथा आवंशिक अनुसन्धान केन्द्र (नार्क)का प्रमुख भानुभक्त पोखरेलले बताए । ‘हाम्रो देशमा किसानका लागि मात्र नभएर विश्वमै यसको सकारात्मक सन्देश जाने र भोलिका दिनमा उत्तम विकल्प साबित हुनेछ,’ उनले भने ।

यसरी सम्भव भयो अनुसन्धान
डा. कुशवाहा पछिल्लो समय फौजी किरा मकैबालीमा फैलिएको र यसले गर्ने असरबारे निकै गम्भीर थिए । बालीबिरुवा र किसानको अधिकारलाई नजिकबाट निहालिरहेका उनी विशेष गरी तराई, मध्यपहाड क्षेत्रमा यसको प्रकोप बढी देखिएपछि अनुसन्धानको खोजीमा लागे । उनी भन्छन्, ‘तराईमा किसानको बाली देखेर निकै चिन्ता लाग्यो र कसरी नियन्त्रण गर्न सकिन्छ भनेर अध्ययन, परीक्षण गर्दा गर्दै ग्रिजको प्रयोग विकल्प बन्न पुग्यो ।’

उनले सुरुमा फौजी किराले आक्रमण गरिरहेको मकैबाली लगाएको खेतमा पुगे । सन् २०१९ को अन्तिमदेखि उनले यसलाई प्रयोग गर्न थाले । सर्लाहीको गोडौला नगरपालिका–५ मा १५ प्लटमा उनले परीक्षण गरे । त्यहाँ उनले केही क्षेत्रफलमा अहिले प्रयोग हुँदै आएको ‘इमामेबेट्रिन केमिकलको प्रयोग गरे । अर्कोमा त्यसै छाडिदिए र अर्कोमा ग्रिजको प्रयोग गरे । तीन भागमा गरिएको परीक्षणलाई उनले पटक–पटक प्रयोग गरे ।

करिब तीन वर्षको परीक्षणपछि ग्रिज लगाएको क्षेत्रमा फौजी किरा शून्य हुन पुग्यो भने केमिकल लगाएको ठाउँमा केही नियन्त्रण भए पनि पुनः फर्कियो । अर्को केही पनि प्रयोग नगरेको मकैमा फौजी आक्रमणले उत्पादन घटायो । उनी थप्छन्, ‘म सन्तुष्ट भएपछि त्यहाँका किसानलाई पनि प्रगोग गर्न लगाएँ । अहिले निकै सकारात्मक प्रतिक्रिया पाएको छु । यसलाई अहिले बेलायतको नेचर जर्नलले समेत स्थान दियो, मेरा लागि एउटा मिहिनेत सफल भयो ।’

प्रतिकृया दिनुहोस्