Wednesday, June 7

काठमाडौं महानगरपालिकाको ९० हजार भोट गनिसक्दा यस्तो छ मतपरिणाम

May 21, 2022 738

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतपरिणाम उल्टिएको छ । काठमाडौं महानगरपालिकाका जारी मतगणनामा पहिलो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन शाह (बालेन्द्र साह) को अग्रता कायमै रहेपनि करिब ९० हजार भोट गनिसक्दा दोस्रो स्थानको नतिजा उल्टिएको हो ।

एमालेका उम्मेदवार केशव स्थापित र काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । केशव स्थापितले जारी मतगणनामा अग्रता लिँदै आएकोमा शनिबार दिउँसोको ताजा मतपरिणामअनुसार सिर्जनाले अग्रता लिएकी छन् ।

मेयरका उम्मेदवार स्थापितले १७ हजार ६७८ मत पाउँदा सिर्जनाले १७ हजार ७०२ मत पाएकी छन् । सिर्जनाले २४ मतले अग्रता बनाएकी हुन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार बालेन शाहले ३२ हजार ९७८ मत पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनामा समावेश वडाहरुमा १ देखि १० र २४ देखि ३२ नम्बर सम्मका रहेका छन् । यस्तै हालसम्म परिणाम घोषणा भएका वडाहरुमा १ देखि ६ तथा ८, २८ र २९ नम्बर रहेका छन्। अहिलेसम्म करिब ९० हजार बढी मत गनिसकिएको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह तीन वडामा भने पछाडि देखिएका छन्। मतगणना जारी रहेका विभिन्न १० वडामध्ये उनी वडा नम्बर २४, २५ र २७ मा पछि देखिएका हुन्।

मखन टोल क्षेत्रमा पर्ने वडा नम्बर २४ मा गणना भएका ६ सय मतमध्ये नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १५३ मत ल्याएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ११८ प्राप्त गर्दा शाहको पक्षमा ११६ मत आएको छ।

२०७४ को निर्वाचनमा निवर्तमान महानगर प्रमुख विद्यासुन्दर शाक्यको गढ मानिन्थ्यो। गत निर्वाचनमा यस वडाबाट एमालेका बालकृष्ण श्रेष्ठले १ हजार ४५२ मत पाएर वडाध्यक्ष जित्दा कांग्रेसले ९१४ मत पाएको थियो।

जनबहाल क्षेत्रमा पर्ने वडा नम्बर २५ मा खसेको कुल मतमध्ये शनिबार बिहानसम्म १ हजार ५६५ मत गणना भएको छ। जसमध्ये स्थापितले ३८०, शाहले २४५ र सिंहले २३३ मत पाएका छन्।

घना नेवा वस्ती मानिने जनबहालमा कांग्रेस र एमालेको लगभग बराबरी भोट छ। २०७४ को चुनावमा यस वडाबाट कांग्रेसका नीलकाजी शाक्य १ हजार ५२५ मतका साथ विजयी भएका थिए। एमालेले यस वडामा १ हजार ४९० मत पाएको थियो। महावौद्ध क्षेत्रमा पर्ने वडा नम्बर २७ मा २ हजार ४१८ मत गणना हुँदा एमालेका स्थापित अग्रस्थानमा छन्। उनले ७४३ मत ल्याएका छन्।

यो वडामा स्वतन्त्र उम्मेदवार ३९५ मतसहित तेस्रो स्थानमा छन्। यहाँ कांग्रेस उम्मेदवार सिंहले ५७९ मत पाएकी छन्। नेवार समुदायको बाक्लो बसोबास रहेको महावौद्ध क्षेत्रमा २०७४ को चुनाव एमालेका चिनियामान बज्राचार्य १ हजार ५६६ मतका साथ विजयी भएका थिए। यहाँबाट कांग्रेसले १ हजार ३५८ मत पाएको थियो।

यता उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ३१ हजार ८४२ मत प्राप्त गरेकी छन्। सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १० हजार ९७९ मत प्राप्त गरेका हुन्। सुनिताले रामेश्वरलाई २० हजार ८६३ मतले लिड गरिरहेका छन्। उनले पनि सुरुदेखिनै मतान्तर बढाएकी थिइन्।

प्रतिकृया दिनुहोस्