Tuesday, March 21

नवनिर्वाचित मेयर दाहालको यस्तो घोषणा ..

May 24, 2022 499

भरतपुर । भरतपुर महानगरपालिकाकी नव निर्वाचित मेयर रेणु दाहालले अबको कार्यकालमा महानगरपालिकामा बेरोजगारी अन्त्य गर्ने घोषणा गरेकी छन् । भरतपुर महानगरपालिकाको मेयरमा जीत निकालेसँगै मेयर दाहालले अबको पाँच वर्ष आफ्नो लागि अन्तिम कार्यकाल भएकोले अब शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा जोड दिने बताएकी हुन् ।

उनले अबको पाँच वर्षमा भरतपुर महानगरपालिकामा बेरोजगार अन्त्य गर्नका लागि रोजगार बैंक स्थापना गर्ने, उद्योग ग्राम स्थापना गर्ने र उद्यमशिलताको विकास गरेर रोजगारी प्रवद्र्धन गर्नेकुरालाई विशेष प्राथमिकतामा राखेको बताइन् । मेयर दाहालले महानगरपालिकाको ढल व्यवस्थापनको लागि गुरुयोजना तयार गरेर काम गर्ने, नारायणी नदीको पुलको पुनर्निर्माणलाई अघि बढाउने पनि उद्घोष गरेकी छन् ।

उनले भरतपुर महानगरपालिकालाई देशकै हेर्न र गर्व गर्न नमूना स्मार्ट सिटिको संकल्प पूरा गर्ने, गौरवका आयोजनाहरु जस्तैः सिटी हल, प्रशासनिक भवन, ५ अर्ब बराबरको नारायणी तटबन्ध, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, महानगरिय रिङ रोडको योजनालाई सम्पन्न गर्ने कुरा पहिलो प्राथमिकतामा राख्ने बताइन् ।

मेयर दाहालले गत कार्यकालमा बाँकी रहेका कामहरुलाई यो कार्यकालमा पूरा गर्ने लक्ष्य राखेको पनि बताइन् । उनले भरतपुरका बाँकी काम पूरा गरेर जनतालाई निराशा हुन नदिने बताइन् ।

उनले भनेकी छन्, ‘हामीले सोचेको भन्दा राम्रो मत तथा नतिजा प्राप्त गरेका छौं । सम्पूर्ण महानगरवासीलाई मनैदेखि आभार व्यक्त गर्न चाहन्छु । पहिलो कार्यकालमा जनताको मन जितेर भावना÷अपेक्षा अनुसार काम गर्ने कोशिस गरेँ । आफ्नो बलबुता क्षमता वा तागतले भ्याएसम्मको मैले कोशिस गरेँ । म एउटा परीक्षण पार गरेर आएको छु । दोस्रो कार्यकालको लागि पनि विगतका अधुरा कामहरु र जनताले अपेक्षा गरे अनुरुप सकेको मैले कोशिस गर्नेछु ।’

उनले फेरि भनिन्, ‘जनउत्तरदायी भएर,जनताको भावना बुझेर महानगरपालिकाका विकासका कामहरुलाई ध्यानमा राखेर सकेसम्म भरतपुर देशकै एउटा नमूना सहर बनाउने संकल्प विगतदेखि थियो । त्यसलाई पूरा गर्नको लागि म प्रतिवद्ध भएर जनताप्रति थप उत्तरदायी भएर काम गर्ने पहिलो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । महानगरवासीले जुन खालको मत जाहेर गर्नुभएको छ । हामीले सोचेका थियौं । ३ देखि ७ हजारसम्मको मत अन्तरबाट जित हुन्छ की भन्ने लागेको थियो ।’

उनले थप भनिन्, ‘भरतपुर नगरपालिकाको निर्वाचनमा देशभरको सत्तापक्ष, विपक्ष र विभिन्न तह र तप्काको ध्यान गएको थियो । विपक्षहरुको निसाना पनि थियो । गठबन्धनको उम्मेद्वारलाई चुनाव हराउने भन्ने निसाना थियो । यी सबै जितलाई प्रवाह नगरेर जनताले विगतको कामको सही मुल्याङ्कन गरेर, पाँच वर्षको कामको अनुमोदन गरिदिनुभएको छ । त्यसप्रति आभार व्यक्त गर्न चाहन्छु । अब आफूले सक्ने कामको कमी हुन दिनेछैन ।

विगतमा निकै राम्रो अनुभव हासिल गरेका छौं । भरतपुरका आवश्यकता, समस्या, प्राथमिकताहरु, विकासका योजनाहरु र जनताका मनोविज्ञानहरु पाँच वर्षमा अनुभव ग¥यौं । त्यो अनुभवको आधारमा अबको पाँच वर्ष मेरो अन्तिम कार्यकाल हो । मैले यो अवसर पाएको छु । यो अवसरलाई एक सेकेण्ड पनि खेर नफाली क्षमताले भ्याएसम्म मैले भरतपुरका जनतालाई निरासा हुन दिनेछैन ।’

त्यस्तै उनले अब थप जिम्मेवारी बोधका साथ अगाडि बढ्ने बताउँदै भनेकी छन्, ‘भरतपुर महानगरपालिकालाई देशकै हेर्न र गर्व गर्न लायक देशकै नमुना स्मार्ट सिटीको संकल्प छ त्यसलाई पूरा गर्नेछु । मेरो पहिलो प्राथमिकता भरतपुर महानगरमा गौरवका आयोजनाहरु बनिरहेका छन् । सिटी हल बनिरहेको छ । प्रशासनिक भवन बनिरहेको छ । ५ अर्ब बराबरको नारायणी तटबन्ध अगाडि बढेको छ । अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको योजना अगाडि बढेको छ । महानगरिय रिङ रोडको योजना अगाडि बढेको छ । यी मुख्यमुख्य ठूला पूर्वाधारका योजनालाई सम्पन्न गर्ने पहिलो प्राथमिकता हुन्छ ।’

उनले फेरि भनिन्, ‘त्यसपछि समग्र महानगरपालिकाको ढल व्यवस्थापन अबको कार्यकालको मुख्य जिम्मेवारीको रुपमा लिएको छु । सिङ्गो महानगरपालिकाको ढल व्यवस्थापनको लागि गुरुयोजना संघीय मन्त्रालय र खानेपानी मन्त्रालयसँग समन्वय गरेर खानेपानी मन्त्रालयबाट ८ वटा सिटी मध्येबाट भरतपुर महानगरपालिकाको ढल व्यवस्थापनको डीपीआर तयार भएको छ । आगामी वर्षको बजेटमा बजेटको व्यवस्था गरेर बहुवर्षे ठेक्का गरेर महानगरपालिकाको ढल व्यवस्थापन प्राथमिकता साथ अगाडि बढाइने छ । महानगरपालिकाको फोहोर व्यवस्थापन प्राथमिकता राखिनेछ । यसको लागि कोरियन सरकारसँग जिटुजी सम्झौता गरिसकेका छौं । त्यसलाई पहिलो प्राथकितामा राखेर त्यो कामलाई पहिलो दिनदेखि नै अगाडि बढाउने छौं ।’

मेयर दाहालले सोचेको भन्दा राम्रो मत परिणाम आएकोले जनताको चाहनाअनुसार जनताकै लागि काम गर्ने प्रतिवद्धतासमेत जनाइन् । ३ हजारदेखि ७ हजारसम्मको मतान्तरले आफू विजयी हुने आशा रहेपनि त्यो भन्दा बढी मतान्तरले विजयी हुनु अघिल्लो कार्यकालमा गरेको उपलब्धिको परिणाम भएको बताइन् ।

गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनमा भरतपुर महानगरपालिकालाई विशेष चासो र महत्वका साथ हेरिएको थियो । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की नेतृृ दाहालले उम्मेदवारी दिनुभएको थियो भने नेकपा एमालेबाट विजय सुवेदीले उम्मेदवारी दिएका थिए । त्यस्तै नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

निर्वाचनको मत परिणाम अनुसार दाहालले ५२ हजार ३० मत पाएकी छन् भने उनका प्रतिस्पर्धी सुवेदीले ३९ हजार ५८१ मत पाएका छन् । दुईजना बीचको मतान्तर १२ हजार ४४९ रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे । उपमेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५२ हजार ८०३ मतसहित विजयी भएका छन् ।-न्युज२४नेपालबाट।

प्रतिकृया दिनुहोस्