Saturday, July 2

”भोलि फाइल पल्टाएर सुरूदेखि हेर्नु नपरोस् ”- उपप्रमुख सुनिता

June 11, 2022 113

प्रणालीलाई पछ्याउने र कानुनको पालनामा सजग भएपछि बेरूजुको मात्रा घट्ने काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले बताएका छन्।‘सानातिना कुरामा ख्याल नपुग्दा तथा यस्ता कुरालाई ध्यान नदिँदा कहिलेकाहीँ असल नियतले गरेका कामका विषयमा प्रश्न आउन सक्छन्,’ प्रमुख शाहले भने, ‘वित्तीय अनुशासनको पालना गरेर बेरूजु हुन नदिने वातावरण सिर्जना गर्नुपर्छ।’

आज आन्तरिक लेखा परीक्षण तथा बेरूजु समपरीक्षण एकाईले वडा सचिव, लेखापाल र इञ्जिनियरहरूसँग गरेको अन्तर्क्रियाका क्रममा उनले यस्तो बताएका हुन्।

अन्तर्क्रियामा उपप्रमुख सुनिता डंगोलले हतारमा काम नगर्न सुझाव दिइन्। ‘भोलि बेरूजु देखिने गरी काम गर्नुहुँदैन। अहिले सम्पन्न गरेका कामसम्बन्धी भोलि फाइल पल्टाएर सुरूदेखि हेर्नु नपरोस्,’ उपप्रमुख डंगोलले भनिन्।

अन्तर्क्रियामा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले हिजोका बेरूजुलाई न्यूनीकरण गर्ने र आगामी दिनमा बेरूजु हुन नदिनेतर्फ आफूले काम गरिरहेको उल्लेख गरे।

‘हामी यो आर्थिक वर्षको अन्त्यसम्ममा पेश्की शून्य अभियानमा छौं,’ उनले भने, ‘लेखा परीक्षण प्रतिवेदनमा देखाइएका नियमित गर्न मिल्ने बेरूजुलाई नियमित गर्छौं। त्यस्तै समपरीक्षण र असुलउपर विधिबाट बेरूजु घटाउँछौं।’

अन्तर्क्रियामा प्रशासन विभागका प्रमुख महेश काफ्ले, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धर, सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले आफूमातहत वडाबाट भएका काम र बेरूजु तथा फर्छ्यौटका लागि अवलम्बन गरिनु पर्ने प्रक्रियाका विषयमा प्रस्तुतिकरण गरेका थिए।

वडाबाट गरिने पूर्वाधारमा लगत इष्टिमेट, मूल्यांकन र भुक्तानी प्रक्रियाको सम्बन्धमा उनीहरूको जोड थियो। उनीहरूले घटना दर्ता समयमा हुन नसक्दा सामाजिक सुरक्षाका कार्यक्रममा बेरूजु देखिएको औंल्याएका थिए।

वडा १६ का लेखा प्रमुख चिनीकाजी महर्जनले वडाको वित्तीय व्यवस्थापनमा आन्तरिक समन्वय प्रणाली बलियो बनाउनुपर्नेमा जोड दिए।

यो पनि… काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्य र शिक्षा व्यापारको रूपमा नभई सेवाको रूपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन्।

क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार बिहान निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन्। २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन समेत गरेका छन्।

मेयर बालेन शाहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तर्क्रिया समेत गरे।

अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा बिरामीसँग अन्तर्क्रियापश्चात् उनले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुसी व्यक्त गरेका छन्।

उनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रूपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिएका छन्।

अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचारविहीन अवस्थामा फर्कनु नपरेको बताउँदै हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले भने, ‘यहाँ देशैभरिका जोसुकै नेपाली नागरिक मसँग पैसा छैन भनेर आउँछन् भने निःशुल्क उपचार सेवा पाउँछन्।’

काठमाडौं महानगरका मेयर शाहले समुदायबाट चलेको अस्पताललाई महानगरले के गर्न सक्छ? सहकार्य कसरी हुनसक्छ? वार्षिक रूपमा सहयोग गर्ने वा के भन्ने विषयमा छलफल भइरहेको बताए।

मेयर शाहले शिक्षा र स्वास्थ्य भनेको प्राथमिक एजेण्डा भएकोले सेवा नै हुनुपर्छ र व्यापार हुनु हुँदैन भन्ने सोचले अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

स्वास्थ्य र सरसफाइमा महानगरले उच्च चासो दिएको बताउँदै यसको लागि नयाँ-नयाँ योजना तथा सल्लाह सुझाव लिएर आउनेसँग सहकार्य गरिने बताए।

प्रतिकृया दिनुहोस्