Sunday, August 7

लाइनमा झुण्डिएका माइला भन्छन्: “अझै रिस उठाएको भए तारैतार हिँडेर काठमाडौं आइदिन्थें” [भिडियो सहित कुराकानी]

June 12, 2022 468

हिजो शनिबार नुवाकोटको ककनी गाउँपालिकाको एक विद्युत पोलमा चढेका ४४ वर्षका माइला विक ६ को घण्टापछि हेलिकप्टर मार्फत उद्धार गरिएको छ । मानसिक सन्तुलन ठिक नभएका माइला बिहान करिब ११ बजेतिर स्थानीयले विक बिजुलीको पोलमा चढेको जानकारी पाएका थिए ।

लाइनमा झुण्डिएका व्यक्तिको उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह् गरेकी थिइन् ।

उनले शनिबार दिउँसो हेलिकप्टरबाट भए पनि ती व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई भनेको बताएकी छन् । उनले ट्विटरमा लेखेकी छन्, ‘विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौं ।’

उनी प्रशारण लाइनमा चढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले सो प्रशारण लाइनमा विद्युत प्रवाह रोकेको छ । त्यसका लागि त्रिशुली थ्री ए र नजिकका अरु साना विद्युत गृहबाट उत्पादन बन्द गरेको  थियो।

प्रहरी र स्थानीय बासिन्दाले उनलाई बिहानैदेखी सकुसल तल झार्न अनेक प्रयास गर्दा पनि विकले मानेका थिएनन् । उनलाई बिशेष सावधानीका साथ हेलिकप्टर मार्फत तल झारीएको थियो ।

विकको मानसिक सन्तुलन गुमेको छ । स्थानीयले बिहान ११ बजे बिजुलीको पोलमा चढेको देखेपछि खबर गरेका थिए । त्यसको केहीबेरपछि उनी तारमा झुन्डिएर यता र उता गरिरहेका थिए ।

उनी भन्छन्..’मैले धर्ती नै छाड्न खोजेको हो । आफ्नै घाँटी रेट्न सकिएन । आँखामा परेको कसिंगर पनि आफैँ झिक्न सकिन्न, साथी चाहिन्छ,’ तारकेश्वर नगरपालिका वडा नम्बर ७ स्थित नवजीवन परोपकार समाजमा पुग्दा माइला बिक अर्थात् हिमबहादुर सुनारले मनको बिरह पोखे । ४२ वर्षीय माइला तिनै व्यक्ति हुन्, जसले शनिवार दिनभर नुवाकोटमा बिजुलीको तारमा बसेर सिंगो राज्यलाई नै हैरान बनाएका थिए । अहिले उनी नवजीवन परोपकार समाजको संरक्षणमा छन् ।

साँझ हेलिकप्टरसहित पुगेको नेपाली सेनाको विशेष टोलीले उद्धार गरेपछि प्रहरीले उनलाई त्यहाँ ल्याएर संस्थाको संरक्षणमा छाडेको हो ।

आइतवार दिउँसो भेट्न पुग्दा हिमबहादुरले मर्न सजिलो रहेन छ भन्ने निष्कर्ष सुनाए– ‘भाग्यमा छैन भने त यत्तिकै मर्न पनि पाइँदैन । अनि दिन आएपछि जान्नँ भन्न पाइँदैन, जानैपर्छ ।’
पारिवारिक तनावले बिजुलीको पोलमा चढेको उनको भनाइ छ ।

कसरी चढियो त बिजुलीको पोलमा ? प्रश्न भुइँमा खस्न नपाउँदै उनले ठट्यौली शैलीमा गम्भीर कुरा सुनाए ।

‘अब सिधै माथि जाने भनेर खम्बामा गएर पहिले ढोगें । हे ईश्वर ! अब तिमी र म सँगै बस्ने ल भनेर विस्तारै माथि चढ्दैचढ्दै गएँ । माथि गएपछि त कोही माइल्दाइ भन्न थाले, कसैले ओइ काले तल झर भन्न थाले । मलाई रिस उठ्दै गएपछि ल आइज न त भनेर अझै माथि गएँ । जेहोस्, सप्लाइ भो । मनको चाहना सप्लाइ भो,’ उनले भने ।

माथि गइसकेपछि आफूलाई तल आउनै मन नलागेको उनले बताए ।

‘ढोग्दा करेन्ट लागेन । यसो सोचें, यो खतरा करेन्ट भन्या छ, बीचतिर गएर बस्छु । त्यहाँ बस्यो भने कोही पनि आउँदैन भन्ने लाग्यो । सुइँसुइँ माथि गएँ, अझै करेन्ट लागेन । माथि गएपछि तल आउन मन लागेन ।’

उनले थपे, ‘माथि उड्न सजिलो हुने रहेछ, तल गाह्रो । त्यहाँ त काँडाले पनि नघोच्ने, सुइँसुइँ लठ्ठा तान्यो, कस्तो मज्जा !’

आफूलाई अझै रिस उठाएको भए तारैतार हिँडेर काठमाडौं आइदिन्थें भन्ने गफ पनि उनले दिए ।

उनको मानसिक स्वास्थ्य जाँचका लागि सोमवार पाटनस्थित मानसिक अस्पताल लैजाने तयारी भएको संस्थाकी सचिव शान्ति तिवारीले लोकान्तरसँग बताइन् ।-लोकान्तरबाट

हेर्नुहोस्,थप भिडियोमा:

प्रतिकृया दिनुहोस्